१४ बैशाख २०८१, शुक्रबार

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, को-को बन्दैछन् नयाँ सभामुख र उपसभामुख ?


शिवमाया तुम्बाहाम्फे

मंसीर २५, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । सभामुखको टुंगो नलाग्दै संसद बैठक आह्वान गरेपछि सत्तारुढ नेकपालाई छिटो सभामुखको टुंगो लगाउनुपर्न दबाब पनि बढेको छ ।

नेकपाले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्था अनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् । उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यसकारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो । सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ।

जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरी उपसभामुखले राजीनामा दिनुपर्ने नेकपा संसदीय दल स्रोतले बताएको छ । बैठक बस्नुअघि राजीनामा आउने संकेत पाईएको छ । उपसभामुख तुम्बाहाम्फेले भने सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताएकी छिन् । संसद् अधिवेशन अगावै राजीनामा दिने वा पछि भन्नेमा सुझाव लिइरहेकी छन् ।

को हुदैछ नयाँ सभामुख ?

संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल भइसकेको स्रोतले बतायो । स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् ।

नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनि सकेको स्रोतले जनायो ।

तर पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन् । अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो । उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन् । यो खवर आजको अन्नपूर्ण पोष्टमा नरेन्द्र साउतले लेखेका छन् ।

को हुदैछ नयाँ उपसभामुख ?

नेकपाले सभामुख लिएपछि उपसभामुख राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई बनाउने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन् । प्रतिनिधिसभा चुनावमा नेकपासँगको तालमेलमै पौडेलले प्युठान १ बाट चुनाव जितेकी थिइन् । प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा रहेका पौडेललाई उपसभामुख बनाउँदा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था सम्बोधन हुने र आफू अनुकुल व्यक्तिको हातमै महत्वपूर्ण पद रहने नेकपाको बुझाइ छ।

को छन् जेष्ठ सदस्य ?

पुस ४ गते अघि नै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएको अवस्थामा प्रतिनिधिसभामा जेष्ठ सदस्यको खोजी हुनेछ । नागरिकता अनुसार प्रतिनिधिसभाको जेष्ठ सदस्य राजपाका महेन्द्रराय यादव हुन् । तर, उनको नागरिकतामा उल्लेख भएको जन्म मिति गलत भएको पाइएपछि २१ महिना अघि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए। यसपटक पनि जेष्ठ सदस्यका रुपमा उनैले सभामुखको चयन गर्ने प्रक्रियाको अध्यक्षता गर्नेछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !