२५ बैशाख २०८१, मंगलबार

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत


lalbabu raout

१७ असोज, सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताउनुभएको छ ।

सर्लाही हरिवन नगरपालिकाले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी छ ।”

मुख्यमन्त्री राउतले मुलुकको विकास र समृद्धिका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिदैं “संविधानअनुसार तीनै तहका सरकारबीच कसरी समन्वय र सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, त्यो नीति तीनै तहले लिनुपर्छ”, भन्नुभयो ।

एकले अर्कालाई गाली गरेर देशको उभो लाग्दैन र यो कार्य गर्नु पनि हुँदैन, उहाँले भन्नुभयो, “विगतका तीता मीठालाई कुरालाई विर्सेर समृद्ध मुलुकको निर्माणका लागि सबैले एकतावद्ध भएर कार्य गर्नुपर्दछ ।”

मुख्यमन्त्री राउतले प्रदेश २ अहिलेसम्म जेजति कारणले पछि परे पनि, यस प्रदेशमा विकासका सबै सूचक प्राप्त गर्नसक्ने आधार रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र कृषि उत्पादकत्वमा पछि पर्ने तथा धेरै युवालाई खाडी मुलुकमा पठाउने प्रदेशका रुपमा मात्रै होइन, उद्योग, पर्यटकीयस्थल, कृषि उत्पादकत्वलाई वृद्धि गरेर खाद्यान्नमा मुलुकुलाई धान्नसक्ने आधार यो प्रदेशमा धेरै नै रहेको छ भन्नुभयो ।

हरिवनमा यस प्रदेशकै ठूलो सम्भावना बोकेका पर्यटकीयस्थल छन्, यसलाई बाहिर ल्याएर हामी बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्छौँ भन्दै उहाँले यहाँ उखु तरकारीलगायतका नगदेबाली पनि प्रशस्तमात्रामा उब्जाइन्छ, जुन यस ठाउँको विकासमा ठूलो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री राउतलाई सम्मान गरिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !