२४ बैशाख २०८१, सोमबार

बहुमत जोगाउन प्रचण्डको दौडधुप


prachanda

काठमाडौँ, १६ साउन- आगामी बुहमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा दाहाल सक्रिय बनेका हुन् , राजधानी दैनिकमा खबर छापिएको छ ।

उनले औपचारिकताका लागि शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेतासँग भेटवार्ता गरेका हुन् । सहमतीय सरकारकै लागि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको दाबी गर्दै आएका दाहालले राष्ट्रपतिले दिएको समय गुज्रन लाग्दासम्म कुनै छलफल गरेका थिएनन् । आज (आइतबार) सो समय सकिई बहुमतीय प्रक्रिया अघि बढ्ने भएपछि उनले दौडधुप बढाएका हुन् । राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि दिएको समय आज (आइतबार) सकिँदै छ ।

सहमतिको सरकार गठनको आवश्यकता नै नरहेको बताउने कांग्रेस–माओवादी गठबन्धनले औपचारिकताका लागि एमालेसँग छलफल गरेको बताइसकेका छन् । सोही कारण दुवै दलले बहुमतीय सरकार गठनको तयारीलाई अन्तिम चरणमा पु¥याएका हुन् । शनिबार दाहालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग भेट्नुअघि सत्ता साझेदार कांग्रेस सभापति देउवासँग भेटेका थिए । यसैगरी, मधेसी मोर्चाका नेतासँग दुवै दलका अध्यक्षसहित भेटवार्ता भएको थियो । सो भेटमा मधेसी मोर्चाले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । आफ्ना माग सम्बोधन भएको अवस्थामा मात्रै सरकारमा सहभागी हुने मोर्चाले बताएको छ ।

माओवादी नेता गिरिराजमणि पोखरेलले मधेसी मोर्चाको प्रस्तुति हेर्दा तत्काल सरकारमा सहभागी बनी जानेभन्दा पनि बाहिरै बसेर सहयोग गर्ने खालको भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !