२६ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनी र घिमिरेद्वारा मनोनयन दर्ता


विष्णुदेवी पुडासैनी र विमला घिमिरे

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका गरी दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनी र सत्ता गठबन्धनको तर्फबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् भने समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् ।

उनी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ । उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताए ।

कांग्रेसकी उम्मेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । विष्णुमाया गत माघ महिनामा भएको राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा महिला क्लष्टरबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी थिइन् ।

२०३३ सालमा पद्मकन्या क्याम्पसमा नेविसंघमा आबद्ध गाउँ फर्क अभियानको क्रममा पार्टीबाट काठमाडौंको तत्कालीन भद्रबास गाविस-९ मा वडाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनी २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !