२५ बैशाख २०८१, मंगलबार

रास्वपा सभापति लामिछानेले दोस्रोपटक गृह प्रशासन सम्हाले


रवि लामिछाने

काठमाडौँ । सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहेका उनी नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त भएका थिए ।

सर्वोच्चको आदेशसँगै उनको सांसद पदसमेत खारेज भएको थियो । गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट ५४ हजार एक सय ७६ मत प्राप्त गरी विजयी भएका उनले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका थिए ।

करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लागेका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गरेका थिए । ग्यालेक्सी टेलिभिजनमा काम गर्दागर्दै उनी पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका थिए । त्यसलगत्तै उनले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए ।

सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व कीर्तिमान कायम गरेपछि उनी चर्चामा आएका थिए ।

कुनै बेला टेलिभिजन कलाकारितामा सक्रिय उनले न्युज २४ मा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ प्रस्तुत गरेका थिए । बेथिती, विसङ्गतिविरुद्ध कडा प्रस्तुति हुने उक्त कार्यक्रम जनताले निकै रुचाएका थिए ।

दोस्रो पटक गृह प्रशासनको नेतृत्व सम्हाल्न पुगेका उपप्रधानमन्त्री लामिछानेका अगाडि प्रधानमन्त्री दाहालको निर्देशनमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीले थालनी गरेको सुधारका कार्यलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !