२२ बैशाख २०८१, शनिबार

कांग्रेस महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित


कांग्रेस महासमिति बैठक

ललितपुर । सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो ।

कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए । कांग्रेसको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।

कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा महामन्त्री थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताएका थिए ।

महामन्त्री थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नै सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गरिनेमा जोड दिएका थिए ।

उनले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको बताएका थिए । उनले गत निर्वाचनमा कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नेमा सचेत रहेको जानकारी गराएका थिए ।

थापाले संसद्भित्रको कांग्रेसको भूमिकालाई पनि त्यसै अनुरुप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउदै पार्टीले भ्रष्टाचारमा, महिलामाथि हुने हिंसा, सामाजिक विभेद्, छुवाछुत लगायतमा शून्य सहनशीलताको नीति अङ्गीकार गर्नेेमा जोड दिएका थिए ।

नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने यस्ता क्षेत्रगत स–साना कार्यले देशलाई समुन्नतितिर लान नै कांग्रेसको जनमुखी परिचय पनि स्वत: स्थापित गर्छ भन्नेमा कांग्रेसलाई गहिरो विश्वास छ भन्दै सङ्घ र प्रदेशमा सरकार साझेदारी र स्थानीय तहको सरकारको नेतृत्व गरेको कांग्रेसले सेवा प्रवाहलाई चुस्त बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यममा सुधार र सकारात्मक भविष्यको अनुभूति नागरिकलाई कसरी गराउने भन्नेमा पार्टीले गम्भीरतापूर्वक प्राथमिकता दिने जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !