२६ बैशाख २०८१, बुधबार

संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन


दालकुमारी सुनुवार

मन्थली, रामेछाप । संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको हिजो दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए ।

सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि थिइन् । लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु भएकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो ।

सुनुवारको पार्थिव शरीर आज आइतबार १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले हिजो एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाई क्षति पुगेको जनाएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !