२० बैशाख २०८१, बिहिबार

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश


हिक्मत कार्की र उद्धव थापा

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुन: पदमुक्त भएका छन् । सर्वोच्च अदालतले आज बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् ।

निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो । यसअघि पनि थापा सर्वोच्चकै आदेशबाट पदमुक्त भएका थिए । उनले भदौ ४ गते लिएको विश्वासको मत र त्यसअनुरुपको पत्र खारेज गरिदिएको हो ।

सर्वोच्चले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि सो आदेश दिएको हो । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख गरिएको छ । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !