२५ बैशाख २०८१, मंगलबार

फोरम सरकारमा जाँदैमा राजपालाई असर पर्दैन्, २ नम्बर प्रदेशको सरकार ढल्दैन् : झा


anil jha

२० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपा नेपाललाई कुनै असर नपर्ने बताएका छन् । उनले भने,‘फोरम सरकारमा गएको छ, यसले राजपालाई कुनै असर हुँदैन्।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता झाले प्रदेश नम्बर २ मा राजपाको कारणले सरकार नढल्ने पनि विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘ढुक्क हुनुहोस् राजपाकै कारण २ नम्बर प्रदेशको सरकार ढल्दैन, किनकी केन्द्र र प्रदेश सरकारको हैसियत अलग अलग हो, प्रधानमन्त्रीको निर्वाचनमा पनि हामीले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको हो, किनकी उहाँहरुले प्रदेश नम्बर २ मा हामीलाई समर्थन गर्नुभएको थियो, अदला-बदली गरेको हो, त्यस्तै फोरम र राजपाले पनि समर्थन गरेपछि दुई तिहाईभन्दा बढिको बहुमत सरकारसँग हुन्छ, यसो हुँदा संविधान संशोधन हुन्छ कि भन्ने हाम्रो एकतर्फी झिनो आशा पनि थियो र छ, जुन दिनसम्म यो आशा रहन्छ हामी सरकारलाई दिएको समर्थन जारी राख्छौं।’

झाले आफूहरुले ओली नेतृत्वको सरकारलाई विना शर्त समर्थन गरेको पनि जिकिर गरे । त्यस्तै उनले बजेट आउनुपुर्व नै आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेर सुझाव दिएको पनि जनाए ।

उनले भने,‘अहिले बजेट आएको छ, बजेटमाथि छलफल जारी छ, नेकपाले पछिल्लो समय एकपछि अर्को छलाङ हान्ने काम गरिरहेको छ, बजेटलाई पनि संशोधन गरेर अघि बढायो भने राम्रो हुन्छ।’ यद्धपी उनले सरकारले बजेटलाई पारित गर्न सक्ने बहुमत रहेको पनि बताए । उनले भने,‘सरकारले अहिले पाडोलाई भैंसी र भैंसीलाई पाडो भनेर पनि पारित गर्न सक्छ।’

फरक प्रसँगमा उनले संसद सञ्चालन नियामावली सर्वसम्मतीमै पारित गर्नुपर्नेमा जोड दिए । उनले भने,‘ढिलै होस्, तर छोरा होस् भनेझैं नियामावलीपनि सर्वसम्मतीबाटै पारित होस्।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !