११ जेष्ठ २०८१, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ जारी


विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज ससदीय सुनुवाइ जारी रहेको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल सुरु भएको हो । समितिको हिजोको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा मात्र उजुरी परेको थियो ।

समितिको आज बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको ससदीय सुनुवाइ जारी रहेको हो । यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरुलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो ।

संसदीय सुनुवाइका क्रममा उनले आफनो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्ने छन् । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !