२४ बैशाख २०८१, सोमबार

काँग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना


डा. चन्द्रकान्त भण्डारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । सांसद भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् ।

भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । आफ्नै घरमा खाना पकाउने ग्यास लिक भएर आगलागीमा परी घाइते भएका भण्डारी भारतमा उपचार गराएका थिए ।

सांसद भण्डारी नेपाल आएपछि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु गरिएको थियो । सो समयमा अस्पतालमा उनको फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराएको थियो ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि बैशाख १७ गते स्वदेश फर्किएका थिए । आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएकोमा आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !