२० बैशाख २०८१, बिहिबार

कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा


बाबुराम गौतम

काठमाडौं । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न गठबन्धनमा आबद्ध दलले सभामुख गौतमलाई राजीनामा दिन आग्रह गरेपछि उनले सभामुख पदबाट राजीनामा दिएका हुन् ।

उनले उपसभामुख सुनिता दुनुवारलाई इमेलमार्फत राजीनामा दिएका हुन् । काठमाडौंमा रहेका गौतमले उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् ।

कोसी प्रदेशमा गठबन्धनको तर्फबाट निवर्तमान मुख्यमन्त्री उद्धव थापाले बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका छन् ।

कोशी प्रदेशको गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले सभामुख गौतमको राजीनामा गराएसंगै बहुमत दाबी गर्ने तयारी गरेका छन् । कोशीमा नयाँ सरकार गठनको लागि राप्रपाको साथ पाउने आशामा बसेको गठबन्धनले राप्रपाको साथ नपाउने भएपछि सभामुखलाई राजीनामा दिन बाध्य पारेको हो ।

राप्रपाको साथ नपाए पनि गठबन्धनले भने प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको १६ गते बेलुका ५ बजेसम्मको समयसीमाभित्र बहुमतसहित सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १२, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद संख्या आवश्यक पर्छ ।

सभामुखले राजीनामा दिएको खण्डमा भने दाबी प्रस्तुत गर्न बहुमत ४७ सांसद पुग्छन् । गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आबद्ध छन् । अहिले गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । यता नेकपा (एमाले) का ४० जना र राप्रपातर्फका ६ जना प्रदेशसभा सदस्य गरी ४६ जना नै रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !