२३ बैशाख २०८१, आइतबार

सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याउन गृहमन्त्रीको निर्देशन


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरेका छन् ।

उनले विमान अवतरणदेखि यात्रु-कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको मिहिन अनुगमन गरेका हुन् । गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू गृहमन्त्रीसँगै अनुगमनमा गएका थिए ।

विमानस्थलको बाटो भएर छिरेको सुन दुईदिनअघि भन्सार पास समेत भएर बाहिरिदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटी उजागर गरेको थियो ।

अनुगमनपछिको संक्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताए । ‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तराष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो ।’ उनले भने- ‘यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ। तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ।’

वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने, प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिएको र सुन तस्करीबारेको छानबिन समितिले यसको जराजरामा पुगेर कार्बाही र समाधान सुझाउने विश्वास गृहमन्त्री श्रेष्ठले लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !