२५ बैशाख २०८१, मंगलबार

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने


मनाङ एयरको हेलिकप्टर दुर्घटना

जनकपुरधाम । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले सो जानकारी दिएका हुन् ।

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ।

मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए।

‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ। सेफ्टीमा कुनै सम्झौता हुँदैन। दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ,’ उनले भने, ‘हाम्रो पहिलो सर्त सुरक्षा हो। हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ। अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ। भोलिसम्ममा गठन हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !