२५ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ः०१ बजेका लागि बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिलाई लिएर हिजो तेस्रो दिन पनि राष्ट्रियसभाको बैठक अबरुद्ध गरेको थियो । अबरुद्ध बैठक आजसम्मका लागि सारिएको थियो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सरदर प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । हिजो बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी, गृह र रक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलको कार्यसूची छ ।

यस्तै राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !