२६ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ । मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रधानमन्त्रीले जवाफ दिएलगतै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो । सत्तारुढ दलहरूले बजेट आजै पास गर्ने तयारीका साथ आ आफ्नो पार्टीमा ह्विप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !