१४ बैशाख २०८१, शुक्रबार

मेरो निर्वाचन क्षेत्रलाई प्रदेशकै नमुना क्षेत्र बनाउँछु : मन्त्री श्रेष्ठ


गंगानारायण श्रेष्ठ

सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका छन् ।

मन्त्री श्रेष्ठले आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका बेला आफ्नो निर्वाचन क्षेत्र सिन्धुली २(२) लाई बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार ६६ औं नम्बरमै रहेको भन्दै यस क्षेत्रलाई विकासको दृष्टिले पहिलो नम्बरमा ल्याउने बताए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई धान पकेट क्षेत्र घोषणा गर्ने बताए । त्यस्तै घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरी कृषि क्रान्ति ल्याउने उनको भनाई छ ।

मन्त्री श्रेष्ठ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामालाई लिएर सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अध्ययन गर्न पुगेका थिए । सो सिंचाइ आयोजनाले दसौं हजार बिगाह उर्वर भूमि सिंचाइ गर्नसक्ने बताइएको छ ।

उनले सिन्धुली, काभ्रे र मकवानपुर जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पुर्याउन सकिने उल्लेख गरे । यस आयोजनाको डिपिआर समेत तयार भैसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !