२५ बैशाख २०८१, मंगलबार

नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा हाम्रो आँखा रसाए : पूर्वराजा ज्ञानेन्द्र


ज्ञानेन्द्र शाह

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा आँखा रसाएको भनेर भावुक अभिव्यक्ति दिएका छन् ।

धनगढीमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा देशको इज्जत र गौरव लोप भएको भनेर देशको पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका हुन् ।

उनले राजनीतिक दलका नेताले नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाउने गरेको हर्कतले देशको इज्जत र गौरव सबै लोप भएर गएको बताए ।

उनले सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको भनेर नयाँ नेपाल भनेको यही हो ? भनेर राजनीतिक दलका नेताहरुलाई प्रश्न समेत गरेका छन् ।

उनले नयाँ नेपालप्रति पनि कटाक्ष गर्दै अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? भनेर प्रश्न गरेका छन् । उनले हामी नेपाली वीर परिश्रमी र स्वाभिमानी भएपनि आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको भनेर चिन्ता व्यक्त गरेका छन् ।

पूर्वराजाले वर्तमान राजनैतिक परिपाटीले देशको हित नहुने संकेत गरे । उनले आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर अरूलाई अलमलाएर र निषेध गरेर, कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य नसप्रिँने बताए । राष्ट्रिय सोच र राष्ट्रिय चिन्तन कम भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वोधनको पूर्णपाठ

धनगढ़ी, नागरिक अभिनन्दन समारोहमा राजा ज्ञानेन्द्रद्वारा गरिएको सम्बोधनको पूर्णपाठ…!

उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईहरुले आयोजन गर्नु भएको यो समारोह आफैमा एउटा संयोजनकारी महत्वपूर्ण काम हो । यहाँ आएर मलाई दुई चार शब्द बोल्ने मौका दिनु भएकोमा आयोजकहरु र उपस्थित सुदूरपश्चिमी भेगका सबैमा हार्दिक आभार व्यक्त गर्दछु । धनगढी नेपालको सुदूरपश्चिमी भूखण्डको पुरानो चहलपहलको स्थान हो । यो अहिले उद्यम इलम र व्यवसायको शहरी केन्द्र बनेको छ । आफ्नो थाकथलो र जमिन पवित्र मान्ने यस भेगका भुमीपुत्रहरु आज यस क्षेत्रको चौतर्फि विकास चाहन्छन् । त्यसका निम्ति बढ्दै गएको उत्सुकता तथा जागरुकता निश्चय पनि सहानीय छ ।

राष्ट्रनिर्माणको अभियान र निरन्तरताको भौतिक, शैक्षिक तथा सामाजिक विकासको क्रममा अब नेपालका कुनै पनि भूभाग टाढा र नजिक छैनन् । राष्ट्रिय अवधारणा बुबाज्यूको राज्यकाल देखि नै उत्कर्षका रुपमा अघि बढेको हो । टिकापुर तथा महेन्द्रनगर यस क्षेत्रमा आज जुन रुपमा बडा छन्, त्यो त्यसैको उदाहरण हो। तर जुन प्रकारको राष्ट्रवादी सोच, राष्ट्रिय चिन्तन र सर्वांगिण उन्नतिको उच्च ध्येय बोकेर समग्र राष्ट्रको उत्थानको शुरुवात भएको हो त्यो त्यही गति र प्रवाहमा अघि बढ्न सकिरहेको छैन । यो हामी सबैका निम्ति सुखद् होइन । डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, आछाम र बाजुरा यो भेगका सुन्दर रमणीय र तिर्थस्थलहरु हुन् ती सबैलाई समेटेर धनगढी, महेन्द्रनगर, टीकापुर जस्ता आधुनिक चरणमा खडा भएका केन्द्रहरुले जुन प्रकारको ज्योति प्रशारण गर्नुपर्ने हो त्यो अपेक्षित रुपमा हुन नसकेको कटुसत्य हो ।

हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो चार दशक अघि सम्म हाम्रो देश कृषि, वन आदी कतिपय – विषयमा आत्मनिर्भर थियो । आफ्नो आवश्यकतालाई परिपूरण गरेर हामी धान चामल निर्यात गर्दथ्यौ । ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योग धन्दाहरु कता विलाए ? किन हराए ? जल जमिन जंगल जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ । हाम्रा घर आँगन पिडी र खिंडीमा चल्ने जन शिल्पीका कैयन् कुटीर उद्यम व्यवसायहरु पूरापूर लोप भएर गएका छन । हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने ? यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन् ।

सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्‌नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ । नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा अम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ।

के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्‌नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ? यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ । आजको युग विकासको युग हो । आजको युग प्रविधीको युग हो । हामी आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छौं ।

त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ? सोचौ गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं देशभन्दा ठूलो अरु केही हुँदैन ।

आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य सप्रिदैन । भोलीको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ यसैमा हाम्रो कल्याण छ । – सबैमा एक पल्ट फेरि हाम्रो धन्यवाद जय नेपाल धनगढी
मिति २०५० साल ज्येष्ठ ८ गते

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वोधनको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !