२३ बैशाख २०८१, आइतबार

भौतिकमन्त्रीले पुल निर्माण गर्ने प्रतिबद्धता जनाएपछि सांसद गौतमले तोडे अनशन


प्रकाश ज्वाला र सञ्जयकुमार गौतम

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद सञ्जयकुमार गौतमले अनशन तोडेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुल निर्माण गर्ने प्रतिबद्धता जनाएपछि सांसद गौतमले अनशन तोडेका हुन् ।

सांसद गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका गौतमले मन्त्री ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।

अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर रहेको बताइएको छ । पूर्व सिँचाइमन्त्रीसमेत रहेको सांसद गौतमले १५ सुत्रीय माग राख्दै बैशाख ३० गते शनिबार बेलुकीदेखि आमरण अनसन सुरु गरेका थिए ।

बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको र सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बसेका थिए ।

सरकारका विभिन्न निकायमा बर्दियाको जनप्रतिनिधिका हैसियतले लामो समयदेखि उठान गरेकोमा जब्दिघाट पुल लगायतका समसामयिक बिषयमा राज्यको निकायबाट सुनुवाई नभएपछि अन्तिम विकल्पका रूपमा जनताका प्रतिनिधि, जनताको लागि, जनताकै माझमा भत्किएको जब्दी पुलको जब्दी तर्फको किनारातर्फ आमरण अनशन हिजो बैशाख ३० गतेबाट माग पूरा गर्ने ग्यारेन्टी नभएसम्मको लागि शुरूवात गरेका थिए ।

सो अनसनमा बस्नुअघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त भएपछि सो पुल पुनः निमार्ण गर्नुपर्ने उनको प्रमुख माग रहेको छ ।

यो पनि पढ्नुहोस्

भत्किएको पुलमुनि कांग्रेस सांसद सञ्जय गौतम किन बसे आमरण अनशनमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !