१८ बैशाख २०८१, मंगलबार

बालुवाटारको गठबन्धन बैठक छाडेर रञ्जिता लागिन् डिल्लीबजार कारागार


रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जारी सत्ता गठबन्धनको बैठक छोडेर नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी बाहिरिएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको गठबन्धनको जारी बैठक छोडेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री समेत रहेकी चौधरी डिल्लीबजार कारागारतिर लागेको स्रोतले बताएको छ ।

उनका श्रीमान् रेशम डिल्लीबजार कारागारमा रहेका छन् । रेशमले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएको बुझिएको छ ।सर्वोच्च अदालतले हिजो टिकापुर घटनाका दोषी रेशमलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो । रेशम लगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेसँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार जेलमा सजाय काटिरहेका उनी रिहा हुने सम्भावना सकिएको छ ।

बालुवाटारको गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

जारी बैठकमा सर्वोच्चले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला नै सदर गरेपछि यस विषयले पनि प्रवेश पाएको छ भने नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने सम्भावना पनि बढेको छ ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी रिहा नहुने, सर्वोच्चद्वारा जन्मकैदको फैसला सदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !