२० बैशाख २०८१, बिहिबार

नक्कली शरणार्थी प्रकरणको छानविनमा सरकार संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए । अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिए ।

राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने

नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न बैठकले अध्यक्ष कृपाराम धमलाको संयोजकत्वमा ९५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा प्रस्तुत गरिएको साङ्गठनिक एवं रणनीतिक प्रतिवेदनमा कलाकारिता क्षेत्रमा थप व्यवसायिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षासहित कलाकारको हक, हित र अधिकारको संरक्षणसम्बन्धी विषयमा छलफल भएको थियो । बैठकले नक्कली शरणार्थीलाई विदेश पठाउने गिरोहमाथि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको स्वागत गरेको थियो । सङ्गठनको जिल्ला तथा प्रदेशको अवस्था, सदस्यता नवीकरण, प्रतिनिधि छनोटका मापदण्ड, कलाकारले सामाजिक रुपान्तरण, उनीहरूको अधिकार संरक्षणसम्बन्धी विषयमा छलफल गरेको अध्यक्ष धमलाले जानकारी दिए ।

शुक्रबार र शनिबार चलेको बैठकमा मोर्चा फाँटका उपप्रमुख भवेश्वर पराजुलीले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कलाकारले सिर्जना गर्ने विषयवस्तुले समाजलाई सकारात्मक रुपान्तरण गर्न प्रभाव पार्ने बताए । महासङ्घका अध्यक्ष धमलाले परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा कलाकारको सहभागिता रहेको भए पनि लोकतन्त्रको रक्षाका लागि पुनः कलाकार एकताबद्ध हुनुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !