२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभामा प्रि-बजेटमाथिको छलफल सकियो


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभामा आगामी आ.ब.का लागि सरकारद्वारा प्रस्तुत गरिएको प्रि-बजेट छलफल सकिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत गरिएको आ.ब.२०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलकाक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको आज अर्थमन्त्री महतले जवाफ दिए पछि छलफल सकिएको हो ।

राष्ट्रिय सभाको यही वैशाख २४ गतेको बैठकमा अर्थमन्त्री डा.अर्थमन्त्री महतले ‘आ.ब.२०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव माथि राष्ट्रिय सभाको हिजो वैशाख २५ र आज २६ गते दुई दिन छलफल भएको थियो भने छलफलमा सांसदहरुले दलीय आधारमा बोल्दै आगामी बजेटले समेट्नु पर्ने बिषयमा सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

दुई दिनसम्म चलेको प्रिबजेट छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री डा.महतले छलफलका क्रममा सांसदहरुले दिएको सल्लाह र सुझावलाई मध्यनजर गरेर नै आगामी बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सबैको सहयोगबाट मात्र वर्तमान आर्थिक अवस्थाको सामना गर्न सकिने बताउँदै अर्थमन्त्री महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययीता, साधारण खर्च कटौती र पुँजीगत खर्चको प्रभावकारीता बढाउने तर्फ केन्द्रीत रहने पनि स्पष्ट पारेका थिए ।

उनले सामाजिक सुरक्षाका कटौती गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्दै हिजो बोलेका कुराहरुबाट सरकार पछि नहट्ने जानकारी दिए ।
मौद्रिक नीति मार्फत राष्ट्र बैंकले चाँडै नै बैंकका व्याजदर घटाउने विश्वास व्यक्त गर्दै अर्थमन्त्री महतले त्यसबाट अर्थतन्त्र चलायमान हुने र निराशाको बादलको अन्त्य हुने दावी गरे ।

देशको आर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर राखेर नै आगामी बजेटका सिद्धान्त र प्राथमिकतहरु प्रस्तुत गरिएको जानकारी दिंदै अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या देखिएको आफूले स्वीकार गरेको बताए ।

सांसदहरुले छलफलका क्रममा उठाएका प्रश्न, जिज्ञासा र सुझावलाई आफूले स्वभाविकरुपमा लिएको बताउँदै उनले हिजो बोलिएको कुरा पुरा हुन नसक्दा आज पनि त्यस्तै तै हैन ? भनेर प्रश्न गर्नुलाई आफूले स्वभाविकरुपमा लिएको स्पष्ट पारे ।

अर्थमन्त्री महतले अहिले राजश्व कम उठेको र पुँजीगत खर्च पनि कम भएकाले अबका दिनमा पुँजीगत खर्चको प्रभाव बढाउँदै डे वान अर्थात पहिलो दिन देखिनै पुँजीगत खर्च बढाउने तर्फ खबरदारी गर्दै जानुपर्ने बताए ।

राजश्व, आन्तरिक ऋण, वैदेशिक अनुदान र ऋण नै देशको आर्थिक स्रोत भएको उल्लेख गर्दै अर्थमन्त्री महतले कोरोनाका कारणले गर्दा पनि राष्ट्र बैैंकले मौद्रिक नीतिमा कडाई गर्दा अहिले राजश्वमा समेत असर परेको स्पष्ट पारे । सरकारल राजश्व चुहावटको बिषयमा सख्तरुपले प्रस्तुत हुने जानकारी दिंदै अर्थमन्त्री महतले नेपालमा विगतको तुलनामा केही पनि विकास नभएको नभई अरु देशको तुलनामा मात्र केही नभएको जस्तो देखिएको बताए ।

प्रिबजेट माथिको आजको छलफलमा सांसदहरु जगप्रसाद शर्मा, खिमलाल देवकोटा, भुवनबहादुर सुनार, इन्दिरादेवी गौतम, राजेन्द्रलक्ष्मी गैरे, तारामान स्वार, बिमला घिमिरे, विना पोखरेल, इन्दू कँडरिया, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरीले बोल्दै आगामी बजेटले समेट्नु पर्ने बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय सभाको अर्को बैठक आउँदो जेठ ३ गते साँझ ६ बजेर ३१ मिनेटमा डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !