२२ बैशाख २०८१, शनिबार

गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान


पृथ्वीमान गुरुङ

पोखरा । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद ढकालले आज मंगलबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनको लागि वैशाख १४ गते बिहीबार ४ बजेसम्मको समयसीमा दिएको जानकारी दिएका हुन् ।

यसअघि बनेको र विश्वासको मत प्राप्त नगरेको एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार पनि यही उपधारा अनुसार गठन भएको थियो । प्रदेश प्रमुखको आह्वानसँगै अब संसदमा बहुमत जुटाउन सक्ने दलको नेताले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन बहुमतको ३१ जना आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।

गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !