२५ बैशाख २०८१, मंगलबार

सेवा सरलता र भ्रष्टाचार नियन्त्रणसहितको सुशासन मुख्य कार्यभार हो : गृहमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सेवा प्रवाहमा सरलता र भ्रष्टाचार नियन्त्रणसहितको सुशासन आफ्नो मुख्य कार्यभार भएको बताएका छन् ।

गृह मन्त्रालयमा आज पत्रकारसँगको परिचयात्मक भेटघाटका क्रममा उनले राजनीतिलाई सफा गरी कसरी मुलुकको परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा आफू गम्भीर रहेको बताए । उनले गृह प्रशासनको सुधार तथा सुशासन र सेवा प्रवाहमा कुनै सम्झौता नहुने बताए ।

उनले गृह प्रशासन र प्रहरीलाई राजनीतिक तथा शक्ति केन्द्रबाट मुक्त गर्ने आफ्नो अभियान रहेको र बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने दृढता व्यक्त गरे ।

गृहमन्त्री श्रेष्ठले सुरक्षाको सुदृढीकरण, राष्ट्रिय एकता, जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै सङ्क्रमणकालीन न्यायका कार्यभार पूरा गर्नु र मुलुकलाई रूपान्तरितसहितको आर्थिक विकासमा अघि बढाउने आफ्नो मुख्य कार्यभार रहेको बताए ।

राष्ट्र र जनताका निम्ति प्रहरी प्रशासन रहेको स्मरण गर्दै उहाँले गृह प्रशासनमाथिको पहुँचमा परिवर्तन ल्याउँदै पहुँच नपुगेकाका हितमा काम गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सुरक्षामा कुनै पनि प्रकारको गतिविधि गर्न नदिने उनले प्रतिबद्धता पनि जनाए । आमजनताले महसुस गर्ने गरी सेवा प्रवाहमा आफू गम्भीर रहेको उनको भनाइ थियो ।

“सहज र सरल ढङ्गले जनताले सेवा पाउनुपर्छ, भोलि आऊ भनेर नागरिकलाई दुःख दिने काम अब चल्दैन”, गृहमन्त्री श्रेष्ठले भने, “अब यसमा गम्भीर हुनुपर्छ, त्यसका लागि कर्मचारीलाई प्रशिक्षण दिइने छ र अभाव भएको ठाउँमा जनशक्ति थपिनेछ ।”

उनले लैङ्गिक हिंसा बढ्दो क्रममा रहेकोप्रति चिन्ता प्रकट गरे । त्यस्ता घटनाको प्रभावकारी नियन्त्रण तथा पीडकलाई दण्डित गर्ने कुरामा आफ्नो ध्यान जाने बताए । उनले दलित उत्पीडितप्रतिको भेदभावमा कुनै छुट नहुने र त्यसका लागि जागरण अभियान बढाउनुपर्ने आवश्यकता औँल्याए ।

लागुपदार्थको दुव्र्यसनीले धेरै युवा प्रभावित भएका र त्यसतर्फ गृहप्रशासन गम्भीर रहेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले नेपाललाई लागुऔषध व्यापारको ट्रान्जिट हुनबाट रोक्ने बताए ।

उनले अपराध नियन्त्रणमा गम्भीर भएर लाग्ने, जेलको सुधार, अध्यागमनलाई प्रविधिमैत्री बनाउँदै वैदेशिक रोजगारीमा जाने युवालाई कसरी सहज बनाउने भन्ने विषयमा ध्यान गएको बताए । उनले विमानस्थलबाट हुने गलत प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनाए ।

राष्ट्रिय परिचयपत्रको उपादेयतालाई पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले नागरिकतालाई सहज र छिटो बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको बताए । उनले नागरिकताका कतिपय सवालमा राष्ट्रिय सहमति जुटाउने पहल भइरहेको पनि बताए । सुरक्षा निकायलाई शक्तिकेन्द्र र राजनीतिको दबाबबाट मुक्त राख्ने उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको न्यायका लागि सरकार गम्भीर रहेको र केही काम सुरु पनि गरिसकिएको जानकारी गराए । उनले पीडितको नाममा फाइदा उठाउनेप्रति सजग हुन पनि आग्रह गरे ।

मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आवश्यक कानून संशोधनको प्रक्रियामा गइसकेको र आयोगले काम थालिसकेकाले जसरी पनि पीडितलाई मिटरब्याजीको शोषणबाट अन्त्य गरेरै छाड्ने उनले विश्वास दिलाए ।

उनले हिजो मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपका विषयमा अध्ययन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन गरिसकेको र घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी पनि गराए । उनले समग्र गृह प्रशासन सुधारका लागि विशेष कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !