८ मंसिर २०८१, शनिबार

पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने ढाकाकुमारको चेतावनी


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

उनले आफूलाई अप्ठेरो परेका बेला पार्टीले सहयोग गर्नुपर्ने बताउँदै पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका हुन् । अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले हिजो यस्तो चेतावनी दिएका थिए ।

उनले आफूलाई फसाउन खोजिएर अप्ठ्यारो परेका बेला आफूलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका थिए । पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।

समितिले हिजो मंगलबार सांसद श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए ।

सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । मेडिकल व्यवसायी प्रसाईँसँग उनले घुस मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले छानबिन समिति बनाएर ७२ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो ।

हिजो मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड घुस मागेको सार्वजनिक भएको अडियो प्रकरणबारे एक घण्टा बयान लिएको थियो ।

रास्वपाको अनुशासन समितिमा श्रेष्ठले बयान दिंदै सार्वजनिक भएको अडियोमा आफ्नो आवाज नभएको जिकिर गरेका थिए । श्रेष्ठले अस्ति साँझ पार्टीलाई स्पष्टीकरण बुझाउँदै अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका उनले बयानका क्रममा हिजो पनि सोही जिकिर दोहोर्याएका थिए ।

रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घण्टाको समयसीमा दिएका थिए ।ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेको अडियो पनि सार्वजनिक भएको थियो ।

उता उक्त पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने बताएका छन् । यसैबीच रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाको अनुशासन समितिमा श्रेष्ठको बयान : अडियोको आवाज आफ्नो नभएको जिकिर

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो पनि सार्वजनिक

अडियोमा सुनिएको आवाज मेरो होइन, एडिट गरिएको हो : ढाकाकुमार श्रेष्ठ

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण

२ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

ढाकाकुमार श्रेष्ठसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !