७ जेष्ठ २०८१, सोमबार

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । रास्वपा सांसद श्रेष्ठले आज पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन् । रास्वपाले पार्टीका सांसद श्रेष्ठलाई हिजो २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले हिजो एक विज्ञिप्ति जारी गर्दै समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका सांसद श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

रास्वपाले डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन रास्वपाले दिएको छ ।

यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज बिहान चितवनमा पत्रकारहरूसंग कुराकानी गर्दै रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएका छन् ।

गृहमन्त्री श्रेष्ठले अडिओ प्रकरणबारे अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । उनले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताएका थिए ।

यसैगरी श्रेष्ठले प्रसाईंसँग २ करोड घुस मागेको विषयलाई लिएर आज बसेको प्रतिनिधिसभाको बैठकमा समेत प्रवेश पाएको छ । आज सांसदहरुले उक्त घुस प्रकरणको छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।

रास्वपाले आफ्नो प्रतिनिधिसभा सदस्य श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ । आज सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् ।

यो पनि पढ्नुहोस्

२ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

ढाकाकुमार श्रेष्ठसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !