७ जेष्ठ २०८१, सोमबार

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो पनि सार्वजनिक


ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो टेप पनि सार्वजनिक भएको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो ।

दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो । ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन् ।

अडियोको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ । उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले ‘त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला’ भन्दै फोन काटेका छन् ।

सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन् । प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन् ।

आइतबारको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारसँग ७२ घण्टे स्पष्टीकरण सोधेकोमा हिजो सोमबार राति उनले स्पष्टीकरण बुझाएका पार्टीका अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले जानकारी दिएका छन् । श्रेष्ठले आफ्नो स्पष्टीकरणमा अडियोमा आफ्नो आवाज नभएको र एडिट गरिएको दावी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !