२४ बैशाख २०८१, सोमबार

बालुवाटारमा गठबन्धनको जारी बैठक छाडेर प्रचण्ड उडे चितवन


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो । मन्त्रालयको भागबण्डाको विषय औपचारिक रुपमा टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।

यद्यपि गठबन्धनको जारी बैठक छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बालुवाटारबाटै हेलिकप्टरमा चितवन उडेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड बालुवाटारबाटै हेलिकप्टरबाट चितवन गएको उनको सचिवालयले जनाएको छ ।

गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बाबजुद प्रधानमन्त्री प्रचण्ड चितवन गएका हुन् । उनी दिउँसो एक बजे काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक पुन: बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । हिजो अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको थियो ।

गठबन्धनका दलहरूबीच कति वटा मन्त्रालय पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति भएपनि कुन-कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषयमा आज सहमति हुने बताइएको छ ।

मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए । अब गठबन्धन दलहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !