२० बैशाख २०८१, बिहिबार

मिटर व्याज पीडितहरुको माग सम्बोधन गर्न सांसदहरुको माग


संसद विश्वासको मत

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले मिटर व्याजबाट पीडित बनेका जनताहरु अहिले मुलुकको विभिन्न भूभागबाट काठमाडौंमा आई आन्दोलन गर्न बाध्य भएको भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आजको बैठकको शुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एक जना मिटर व्याज पीडित सिरहा देखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिंडेर काठमाडौंको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै मिटर व्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न सरकासँग माग गरेका छन् ।

उनले राज्य जहिले पनि पीडितको पक्षमा हुनुपर्नेमा अहिले राज्यले नै मिटर व्याजका साहुहरुलाई संरक्षण गरिरहेको दावी समेत गरे ।

समयम मागेर बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मिटर व्याजी पीडितहरुको समस्या बुझ्न जाँदा आफ्नो पार्टीको प्रमुख सचेतक ज्ञानबहादुर शाही माथि सत्तापक्षका कार्यकर्ताले दुव्र्यवहार गर्न खोजेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘के सरकार मुठभेड तर्फ जान खोजेको हो ?’ उनले प्रश्न गरे । मिटर व्याज पीडितहरुको माग चाँडो भन्दा चाँडो पूरा गरी पीडितहरुलाई न्याय दिन आग्रह गर्दै सांसद लिङदेनले कोशी प्रदेशको नामाकरण पछि चर्चिकएको आन्दोलने मुठभेड तर्फ अगाडि बढेको तर्फ सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

जातको आधारमा राज्य दिने आश्वासन जनतालाई बाँडेको पार्टीले नै अहिले सरकारको नेतृत्व गरिरहेकाले कोशी प्रदेशको नामाकरण पछि चर्किएको आन्दोलनको बिषयमा सरकारको धारणा समेत माग गरे ।

जसपााकी सांसद रन्जुकुमारी झाले मिटर व्याज पीडितहरु पैदल हिंडेर अहिले राजधानी आई आफ्नो पीडा पोखिरहेको उल्लेख गर्दै उनीहरुको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नु पर्ने राय प्रस्तुत गरेकी थिइन् । सांसद झाले केही एयर होस्टेजहरुलाई पाईलट र मालिकहरुबाट यौन शोषण भईरहेको समाचारहरु आएको भन्दै सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएकी थिइन् ।

नेकपा(एमाले)की सांसद शोभा ज्ञवालीले बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्जको जनावरले दैनिकरुपमा २–३ जना स्थानीय जनतालाई आक्रमण गर्नुका साथै बालिनालीको समेत नास गर्ने गरेकाले निकुञ्जलाई पक्किवाले घेरेर समस्याको स्थायी समाधान गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

आम जनता पार्टी प्रभु साहले मिटिर व्याजी पीडितहरुको आन्दोलन चर्चिरहेकाल उनीहरुको समस्या तत्काल समाधान गर्न सभामुख मार्फत सरकारलाई रुलिङको माग गरेका थिए । उनले कर्जा प्रवाहका बिषयमा लघुबीत्त र बैंकहरुमा विद्यमान बेथितिको निराकरणको लागि ठोष कानूनको आवश्यकता रहेको पनि औंल्याए ।

नेमकिपाका सांसद प्रेम सुवालले देशको राजश्वले कर्मचारीलाई तलब दिन नपुग्नेगरी अर्थतन्त्र कमजोर बनाउने सरकारका मन्त्रीहरुले सदनलाई जवाफ दिनु पर्ने बताए । उनले वीर अस्पतालमा लामो समय देखि क्यान्सर उपचारको उपकरण बिग्रिएर थन्किँदा बिरामीहरुलाई मार परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद सुवालले कोशी प्रदेशको नामाकरण पछि उठेको भएको आन्दोलनमा सरकारले गोली बर्साएर मुठभेड निम्त्याउन खोजेको दावी गर्दै गोर्खा भर्ति केन्द्रमा अब नेपाली युवालाई पठाउन नहुने जिकिर गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले केही दिन अगाडिको काठमाडौंको सांस्कृति महत्व बोकेको एउटा जात्राको बेलामा सुनियोजित तरिकाले लोडसेडिङ गराइएको भन्दै उक्त लोडसेडिङ सांस्कृति मास्ने नियतका साथ गरिएको दावी गरे ।

नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले न्याय माग्दै मिटर व्याज पीडितहरु काठमाडौं आएकाले उनीहरुको समस्या तत्काल समाधान गरिनुपर्ने बताए ।

समय मागेर बैठकको शुरुमै बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले पूर्व निर्धारित संसदको कार्यसूची परिवर्तन गरिएको भन्दै सभामुख मार्फत आपत्ति प्रकट गरेका थिए । उनले प्रधानमन्त्रीले संसदमा विधेयक पेश गर्ने कार्यसूची रहँदारहँदै पनि अर्को मन्त्रीलाई पेश गर्न लगाइने गरेको कार्यप्रति पनि आपत्ति जनाउँदै सांसद पन्तले संसद शुरु भएको ३ महिना बितिसक्दा समेत संसदले खासै उपलब्धीमुलक काम गर्न नसकेको भन्दै आम जनताबाट आलोचना हुन थालेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !