२३ बैशाख २०८१, आइतबार

गठबन्धनको आजको बैठक पनि निष्कर्षविहीन, दिउँसो ३ बजे पुन: बस्ने


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको हो ।

यद्यपि गठबन्धनका नेताहरुको बैठक आजै दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे बृहत छलफल भएपनि सहमतिमा पुग्न नसकिएको हो ।

प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ गठबन्धनमा सहमति गरेर मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने तयारी गरेका छन् । गठबन्धनमा मन्त्रालयको भागबण्डामा हिजो सहमति जुट्न नसकेकोले आज बैठक बसेको थियो ।

सत्ता गठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता साझेदार दलको हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर आज टुङ्गोमा पुगिने बताइएको थियो ।हिजोको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत १० दलीय गठबन्धनका शीर्ष नेता सहभागी रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !