१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा जाने


डा. प्रकाशशरण महत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र नेपाली कांग्रेस सरकारमा जाने भएको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा जाने बताएका हुन् ।

कांग्रेस प्रवक्ता डा. महतले प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने जानकारी दिए । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने बताएका हुन् ।

यस्तै नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदै छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो ।

बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उनलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । यसैगरी बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !