२५ बैशाख २०८१, मंगलबार

माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन : सचिव पौडेल


देवेन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् । आज यहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाले परिवर्तनकारी शक्तिका बीचमा साझा धारणाका साथ एक ठाउँमा आउनुपर्ने बताए ।

सचिव पौडेलले भने, “यतिबेला माओवादी अध्यक्ष प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी देशी–विदेशी शक्तिहरू लागिपरिरहेका छन्, त्यसैले पूर्वमाओवादी एक ढिक्का हुुनुपर्छ, यसको विकल्प छैन ।”

सचिव पौडेलले विसं २०७६ माघ १ गते अध्यक्ष प्रचण्डले सार्वजनिकरूपमा बोल्नुभएको विषय राजनीतिक विषय भएकाले अदालतले यस्तो विषयलाई हेर्न नमिल्ने जिकीर गरे । उनले भने, “अध्यक्ष प्रचण्डले त्यतिबेला बोलेको कुरा राजनीतिक भाषा हो र यसलाई अदालतमा लैजानु त्रुटिपूर्ण छ । यस्ता घटनाको हामी राजनीतिक र वैचारिकरूपले प्रतिवाद गर्नेर्छौँ ।”

शान्ति प्रक्रियाका विषय टुङ्ग्याउन माओवादीहरू एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । “माओवादी आन्दोलनमा भएका साथीहरू एक ठाउँमा हुनुपर्ने बेला आएको छ । हामी छुट्टिँदा हाम्रा मुद्दाहरू कमजोर भए गम्भीर समीक्षा गरेर अघि बढ्छौँ ।”

विगतमा शान्ति प्रक्रियासँग नजोडिएका कतिपय शक्तिले न्यायालयलाई पनि प्रभावित पार्ने काम भएको उनको भनाइ थियो । “बृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिले कतिपयलाई नरुचेको हुनसक्छ”, सचिव पौडेलले भने ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाइ गरेको बताउँदै त्यसलाई गति दिनु जरुरी रहेको उनको भनाइ छ । सङ्क्रमणकालीन न्यायका मुद्दामा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुङ्ग्याइने उनले बताए ।

बृहत् शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ ।

उनको भनाइ थियो, “हामी न्यायपालिकालाई सम्मान गर्छौँ तर देशमा भएको सहमतिलाई उल्लङ्घन गर्न खोजिएको हो भने त्यसको हामी प्रतिवाद गर्छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !