२० बैशाख २०८१, बिहिबार

पूर्वराजाको बुद्धिजिवीद्वारा प्रशंसा, दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन आह्वान


स्वतन्त्र बुद्धिजीवि समूह

काठमाडौं । स्वतन्त्र बुद्धिजीवि समूहले आगामी फागुन २० गते दुर्गा प्रसाईँले आयोजना गरेका कार्यक्रममा ऐक्यबद्धता जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले दुर्गा प्रसाईँले उठाएका एजेण्डा नागरिक र राष्ट्रको हितमा रहेकाले उक्त आन्दोलनमा आफूहरुको समर्थन रहने बताएका हुन् ।

तर, कार्यक्रमलाई हिंसात्मक बनाउन नहुने उनीहरुको धारणा छ । दुर्गा प्रसाईँले सुरु गरेको कालोमोसो अभियान गलत भएको उनीहरुको टिप्पणी छ । लघुवित्त आतंक, आर्थिक संकटका कारण व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य, संघीयता खारेजी, धर्मसापेक्ष राज्य कायम हुनुपर्नेलगायतका एजेण्डा राखेर आगामी फागुन २० गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आन्दोलनहरु शान्तिपूर्ण र हिंसारहित हुनुपर्ने बताए । दुर्गा प्रसाईँको आन्दोलनमा देखिएको कालोमोसो दल्ने प्रवृत्ति गलत रहेको उनको भनाई छ । ‘परिवर्तन नागरिकको पक्षमा हुनुपर्छ, मुलुकको पक्षमा हुनुपर्छ । त्यो परिवर्तन शान्तिपूर्ण हुनुपर्छ, हिंसारहित हुनुपर्दछ । दुर्गा प्रसाईँजीको आन्दोलनमा कालोमोसो दल्ने जुन किसिमको प्रवृत्ति आएको छ, त्यो प्रवृत्ति गलत छ । त्यस किसिमका प्रवृत्तिलाई रोक्नुपर्दछ । कालोमोसो दलेर समस्याको समाधान हुँदैन भन्ने कुरामा हामी प्रष्ट छौं । यो आन्दोलनलाई अहिंसात्मक, शान्तिपूर्ण र सशक्त बनऔं भन्न हामी चाहन्छौं,’–उनले भने ।

अहिले मुलुक आर्थिक रुपमा ज्यादै कठिन अवस्थामा रहेको उनको भनाइ छ । लघुवित्तको ऋण तिर्न नसकेर नागरिकहरुले आत्महत्या र आत्मदाह गर्नुपरेकोमा उनले दुःख व्यक्त गरे । दुर्गा प्रसाईंले नागरिकको पक्षमा उठाएको मुद्दा सही भएपनि हिंसात्मक गतिविधिलाई सही भन्न नसकिने उनको भनाइ छ । सरकारले शान्तिपूर्ण आन्दोलनलाई दवाउन नहुने र प्रसाईँको आन्दोलनमा राजनीतिक दलको एजेण्डा पनि प्रष्ट हुनुपर्ने उनको भनाई छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक बनेकोमा उनले खुसी व्यक्त गरे । रास्वपा र रवि लामिछाने जनताको आशा र भरोशा बोकेको पार्टी भएकोले सत्ताको लिप्सा त्यागेर जनताको आन्दोलनमा जोडिन पनि उनले आह्वान गरे । ‘रवि लामिछानेजी नेपाली नागरिक बन्नुभएको छ । त्यसको लागि म बधाई दिन चाहन्छु । उहाँ नेपाली नागरिक भएको कारणले निर्वाचनमा उठ्न पाउनुहुन्छ । त्यो उहाँको अधिकार हो । त्यसमा म खुशी छ । रवि लामिछानेजी र उहाँहरुले शत्ताको लिप्सा राख्न हुँदैन । सत्तामा बस्ने आकांक्षा राख्न हुँदैन । नेपाली समाज रुपान्तरणको वहाक बन्नुपर्छ । दुर्गा प्रसाईँको आन्दोलनलाई साथ दिनुस्’– उनले भने ।

साथै, उनले नेकपा (माओवादी केन्द्र) को आन्दोलनसमेत असफल भएको बताए । दुर्गा प्रसाईँको कार्यक्रममा गएर राजाले नागरिकसामु जाने साहश देखाएको उनको दाबी छ । राजा ज्ञानेन्द्र दुर्गा प्रसाईंको आन्दोलनमा सडकमा आउनुपर्ने उनको धारणा छ । ‘दुर्गा प्रसाईँजीले उठाउनुभएको राजतन्त्रको विषयमा व्यक्तिगत रुपमा मेरो सहमति छैन । तर, म राजसंस्थाको पक्षधर व्यक्ति हुँ । राजा स्वयंले आफू कस्तो राजा हुन चाहन्छन् ? कस्तो शासकीय स्वरुप चाहन्छन् ? संविधानप्रति राजाको दृष्टिकोण के छ ? उनको भूमिका के हुन्छ ? यी यावत कुरा प्रष्ट रुपमा राजाले बोल्दैनन् तबसम्म राजाको विषयमा छलफल गर्न सकिँदैन । जुनदिन राजाले यी विषयमा स्पष्ट रुपमा राजाले बोल्छन् त्यो बेला राजाको विषयमा छलफल गरौंला तर, राजालाई म एउटा कुरामा धन्यवाद दिन चाहन्छु, दुर्गा प्रसाईँजीको कार्यक्रममा गएर कार्यक्रमको उद्घाटन गरे । साहश देखाए । नागरिक समक्ष जाने साहश देखाए त्यसका लागि म राजालाई धन्यावाद दिन चाहन्छु’– उनले भने ।

साथै पूर्वराजा ज्ञानेन्द्रले हिजोकै अवस्थामा शक्ति आर्जन गर्ने अभिलासा राखेको भएमा त्यो पुरा नहुने उनको भनाई छ । नेपाली कांग्रेस र एमालेले अब संघीयताको मुद्दा बोक्न नहुने उनको धारणा छ । संघीयता नेपालको परिवेशमा सफल हुन नसक्ने उनले बताए । ‘अब पनि नेपाली कांग्रेस र एमालेले संघीयतालाई बोक्ने हो भने तपाईहरु मुलुकप्रति अलिकति पनि चिन्तित हुनुहुन्न भन्ने कुरा नागरिकले विश्वास गर्नुपर्ने हुन्छ । दुर्गा प्रसाईँको आन्दोलन प्रत्येक नागरिकको आन्दोलन हो । यसलाई एमाले कांग्रेसले पनि साथ दिनुपर्छ,’–उनले भने ।दुर्गा प्रसाईंले उठाएको एजेण्डा मुलुकको हितमा रहेको उनले बताए । दुर्गा प्रसाईँको आन्दोलनलाई साथ दिन पनि उनले आग्रह गरे ।

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले दुर्गा प्रसाईँको आन्दोलनमा आफ्नो समर्थन रहेको उनले बताए । आफू वीसौं वर्षदेखि दुर्गा प्रसाईँले उठाएको एजेण्डामा काम गर्दै आइरहेको उनले बताए । संघीयता नेपालले थेग्न नसक्ने भन्ने यसलाई उनले सेतो हात्तिको उपमा दिए ।

‘मैले वीसौं वर्षदेखि भ्रष्टाचारका विरुद्धमा आवाज बुलन्द गर्दै आएको छु र धेरै काम पनि गरेको छु । मेरो एजेण्डामा भ्रष्टाचार विरुद्धमा कोही मान्छे आयो भने त्यसलाई नगर मैलैमात्रै गर्नुपर्छ भन्ने छैन । गर म पनि आउँछु भन्नुपर्यो नि मैले । मैले वीसौं वर्षदेखि एउटै बोली बोलेको छु, धर्म र संस्कृतिको रक्षा हुनुपर्यो । यो देशमा संघीयताको आवश्यकत्ता छैन । यो सेतो हात्ति हो । यसलाई खारेज गर । गणतन्त्र हामी स्थापना गर्नै सक्दैनौं । गणतन्त्र हाम्रो हुँदै होइन,’– उनले भने ।

पञ्चायती शासन कालमा आफूले पञ्चायतको विरोध गरेर कालो सूर्य लेखेपनि त्यो वास्तविकता होइन रहेछ भन्ने अहिले लागेको बताए । २०६२ /०६३ सालको आन्दोलन नेपालीले नगरेको पनि उनको दाबी छ । उक्त आन्दोलन विहार र युपीबाट पैसामा मान्छे ल्याएर गरिएको उनको आरोप छ । दुर्गा प्रसाईँको आन्दोलनले मिर्मिरे विहानीको आभास दिएको उनले बताए । २०७२ सालको संविधानलाई आफुहरु मान्न तयार नरहेको उनले बताए । संविधानको परिवर्तनका लागि दुर्गा प्रसाईको आन्दोलन आवस्क रहेको उनको भनाई छ । नेपाललाई टिकाउनका लागि राजसंस्था अपरिहार्य भएको उनको भनाई छ ।

त्यसैगरी अर्का वक्ता डा. प्रेमसिंह बस्न्यातले नेपालका केही राजनीतिक दलले पहाडियालाई मार भनेर सोझा थारुहरुलाई उक्साएको आरोप लगाए । आगामी २० गते हुन गइरहेको आन्दोलनलाई दमन नगर्न पनि उनले राज्य समक्ष आग्रह गरे । ‘रेशम चौधरीजीहरुले आन्दोलन गर्दाखेरि माओवादीका देव गुरुङ, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका पात्रहरुले पहाडियालाई मार भनेर यिनीहरुले उक्साएर सोझा थारुहरुलाई जेलमा हाले । यिनीहरु हत्यारा हुन । सोझा थारुलाई जेलमा हालिएको छ,’– उनले भने ।

यो देशमा थारुहरुलाई समाप्त गर्नुपर्छ भन्ने मानसिकता यी नेताहरुमा रहेको उनले बताए । दुर्गा प्रसाईँको अगुवाइमा हुने आन्दोलनमा यो दृष्य नदोहोरियोस भन्ने आफूहरुको चाहना रहेको उनले बताए । जनताको आन्दोलन सफल होस् भन्ने आफूले चाहेको बताए । साथै, उनले राजा ज्ञानेन्द्रलाई सत्ता पल्टाउने कुरा गर्न आग्रह गरे । अहिलेको संविधान आफैंमा नेपालको लागि दुस्मण भएको उनको आरोप छ ।

‘नेपालको संविधान आफैं देशको लागि दुस्मन हो । यसको दफादफाले, अक्षरअक्षरले मेरो देश टुक्रन्छ । यहाँ गुरुङ काटिन्छ । मगर काटिन्छ । बाहुन काटिन्छ । क्षेत्री काटिन्छ, यहाँ हिन्दु काटिन्छ । मुसलमान काटिन्छ । क्रिस्चियन काटिन्छ । यी दलालहरुले लिएर आएको इमोसनल हो यो, संविधान होइन । यो संविधान खारेज हुनुपर्छ,’– उनले भने ।

अर्का वक्ता वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल इतिहासको सबैभन्दा कठिन घडीमा रहेको बताए । १२ बुँदेको पिसाचहरु आएर नेपालीलाई सिध्याउनको काम भएको उनको आरोप छ । नेपालका नेताहरुको पैसा कहाँ छ भन्ने कुरा दुवैका पान पसलेसमेतलाई थाहा भएको उनले आरोप लगाए । ‘अहिले आन्दोलनको जरुरी थिएन । बारम्बार देशलाई अस्थिर बनाउन हुँदैन । तर, बाह्र बुँदेका पिसाचहरु आएर नेपालीलाई सिध्याए । गाउँगाउँमा मान्छे रुखमा पासो थापेर मरेको छ । दिनको दुई हजार मान्छे खाडीमा गएको छ । व्यापार घाटा कहालीलाग्दो छ । देश आर्थिक अवस्थामा टाट परेको छ । नेपालको नेताको पैसा कहाँ छ ? भन्ने कुरा दु्वैको पान पसलेलाई थाहा छ । कुन–कुन नेताको दुवैमा पैसा छ भनेर,’– उनले भने ।

नेपालमा छिमेकी मुलुकहरुको राजनीतिक हस्तक्षेप बढेको उनको बुझाई छ । ‘नेपालमा छिरिक्क केही भयो भने तीन वटा देशका स्याल आइपुग्छन् । अनि लुछाचुँडी हुन्छ । तिनीहरुले निर्देशन दिन्छन्, सत्ता यसको बनाउ, राष्ट्रपति उपराष्ट्रपति यसलाई बनाउ । नेपाल अहिले नेपालीले चलाएको छैन, विदेशीहरुको एजेण्टले चलाएको छ,’– उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !