२० बैशाख २०८१, बिहिबार

पार्टीले कारबाही गर्ने भएपछि दुर्गा प्रसाईंले गरे एमाले परित्यागको घोषणा


दुर्गा प्रसाईँ

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीले आफूलाई कारबाही गर्ने थाहा पाएपछि प्रसाईंले आज एमाले परित्यागको घोषणा गरेका हुन् ।

उनले आइतबार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए । आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने बताउँदै प्रसाईंले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने चेतावनी समेत दिए ।

एमालेले केन्द्रीय सदस्य प्रसाईलाई निष्कासनको प्रक्रिया सुरु गरेको छ । प्रदेश १ कमिटीले प्रसाईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ ।

प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको हो ।

प्रदेश कमिटीको आफूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासनको लागि सिफारिस गरेपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रसाईंले आजै पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने बुझिएको छ ।

चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् । प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।

पार्टीले कारबाहीको निर्णय नगर्दै उनले आफै पार्टी परित्याग गरेको बताएका हुन् । प्रसाईंलाई गत वर्ष मंसिर २६ गते एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !