२३ बैशाख २०८१, आइतबार

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


केपी ओली र प्रचण्ड बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राष्ट्रपतिका विषयमा सहमति जुटाउन ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

सत्ता गठबन्धनबाट राष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा दुई शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिका राष्ट्रिय सहमति जुटाउनुपर्ने तर्क गर्दै आएका छन् भने अध्यक्ष ओली वर्तमान सत्ता गठबन्धन बनेको समयमा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउनुपर्ने अडान राख्दै आएका छन् ।

केपी ओली र प्रचण्ड बालकोट

राष्ट्रपतिको विषयलाई लिएर प्रचण्ड र ओलीबीच खटपट उत्पन्न भएकोले गठबन्धनको भविष्य नै अन्योलमा परेको छ । राष्ट्रिय सहमतिको विषय उठाएर वर्तमान सत्ता गठबन्धन भत्काएर काँग्रेसलाई पावर बैंकको रुपमा राखेका प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री हुन खोजिरहेका छन् ।

राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर हिजो बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा २ घण्टा छलफल भएपनि अझसम्म सहमति हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई बनाउने भन्ने बारेमा प्रचण्ड र ओलीबीच मतभेद कायमै रहेको बेला ओली र प्रचण्डको भेटलाई चासोका हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने समयदेखि काँग्रेससँग नजिकिएसंगै ओली प्रचण्डसंग शशंकित भएका छन् । वर्तमान गठबन्धन बन्दा सत्ताको चावी आफ्नो हातमा रहेको दावी गरेका ओली प्रचण्डले काँग्रेससँग समधुर सम्वन्ध बनाएर सत्ताको चावी अहिले आफ्नो हातमा पारेसंगै ओली कमजोर देखिएका छन् ।

एमाले अध्यक्ष ओली आफ्नो पार्टीबाट राष्ट्रपति बनाउनको लागि अडान लिएर राष्ट्रपतिको निर्वाचनसँग ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । माओवादीले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई समर्थन नगरेमा ओलीको मौनता भंग हुने प्रष्ट देखिएको छ । यता प्रधानमन्त्री प्रचण्ड पनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सरकारको आलोचना बढेसंगै तनावमा छन् ।

मंगलबार अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डसँगको सत्ता सहकार्य टुंगिन लागेको संकेत गरेका थिए । अध्यक्ष ओलीले पाँच दलीय तत्कालीन गठबन्धन भत्काएर सात दलीय गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार बनाउन सफल भएपनि वर्तमान सत्ता गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका थिए ।

ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताएका थिए । उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरेका थिए । ओलीले मुलुकमा अहिले अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको भन्दै देश बर्बाद पार्न भित्र र बाहिरका शक्तिहरू क्रियाशील रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !