१९ बैशाख २०८१, बुधबार

प्रचण्डसँगको सत्ता सहकार्य टुंगिन लागेको ओलीको संकेत


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सत्ता सहकार्य टुंगिन लागेको संकेत गरेका छन् ।

आज मंगलबारदेखि काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय तत्कालिन गठबन्धन भत्काएर सात दलीय गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार बनाउन सफल भएपनि वर्तमान सत्ता गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका हुन् ।

ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताएका हुन् । उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरे ।

उनले अहिले देश बर्बाद पार्न भित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको बताएका हुन् । ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । ‘यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन् । हामी सचेत हुनुपर्छ । हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन ।’

देशमा अस्थिरता ल्याउन प्रयास जारी रहेको बताउदै अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे । ओलीले संसदको बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे ।

ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन पनि आफ्ना पार्टीका नेता-कार्यकर्तालाई सांकेतिक रुपमा निर्देशन दिएका हुन् । ओलीले तत्कालिन गठबन्धन तोडिँदा पार्टीका नेता-कार्यकर्तामा आनन्दको अनुभूति देखिएपनि अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगेपनि निरास नभई तयार हुन निर्देशन दिएका हुन् ।

“पाँचदलीय गठबन्धन तोडिएपछि अहिले हाम्रो अर्को गठबन्धन बनेको छ । यसबाट हाम्रा साथीहरूमा आनन्दानुभूति देखिएको छ,” उनले भने, “कथंकदाचित गठबन्धन टुट्यो भने पनि तयार हुनुपर्छ ।”

अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे । “देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन् ।” उनले भने ।

उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको दावी गरे । उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताए ।

अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउन आग्रह गरे । “अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो”, उनले भने ।

हिजो पनि कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएका बेला एमालेमाथि आक्रमण भएको भन्दै उनले एमाले युवा, विद्यार्थीको आन्दोलनको जगमा फेरि उठेको बताए । ओलीले सत्ता प्राप्तिका लागि लत्रिएर एमाले कसैसँग नमिल्ने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

अहिले देश बर्बाद पार्न भित्र र बाहिरका शक्ति सक्रिय छन् : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !