१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दावी पेश


कमलबहादुर शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दावी पेश गरेका हुन् । सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको हैसियतले दावी पेश गरेपछि प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । प्रदेश प्रमुखले शाहलाई आजै बिहीबार नै मुख्यमन्त्री नियुक्त गर्ने र शुक्रबार शपथ ग्रहण गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसंगै कांग्रेसका शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार ढलेको थियो ।

सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री राजेन्द्र रावल स्वतः पदमुक्त भएका थिए । रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत भएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि अब उपधारा ३ अनुसार सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने भएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ जना सांसद रहेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

स्वत: पदमुक्त भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्दै

 सुदूरपश्चिममा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री रावल पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !