२६ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद विस्तार : नवनियुक्त मन्त्रीहरुले लिए शपथ


नवनियुक्त मन्त्रीहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार भएको हो ।

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गरेका हुन् । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिएका छन् ।

एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिए । त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !