१४ बैशाख २०८१, शुक्रबार

आज राति १२ बजेपछि स्थिर समय सुरु हुँदै, प्रचारप्रसारमा निषेध


निर्वाचन

काठमाडौँ । आगामी मँसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदैछ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब आज राति १२ बजेसम्म मात्र बाँकी रहेको छ ।

निर्वाचन आयोगले आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको छ । यसअघि निर्वाचनको समयमा प्रचारप्रसार गर्न नपाइने निर्वाचनअघिको समयलाई मौन अवधि भनिएपनि यसपटक भने आयोगले उक्त अवधिलाई स्थिर समय भनेको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै स्थिर समय आज राति १२ बजेदेखि सुरू हुने बताए । निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न पाइँदैन।

स्थिर समयमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि मतदान स्थलभन्दा ३०० मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनु पर्ने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने बताए । सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुका साथै लाइक वा सेयर गर्न पनि नपाइने उनले बताए ।

उनले मतदान स्थल वरपर निर्वाचन बिथोल्ने गरी केही गर्नसमेत नपाइने बताए । मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको पनि उनले बताए । आयोगले आगामी मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही गत कात्तिक १७ गतेदेखि आज मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको थियो ।

मङ्सिर १ गते रातिदेखि प्रचार-प्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !