२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड भन्छन्- राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

आफ्नो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपति भण्डारीले मंगलबारसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संविधानविपरीत काम गरेको भन्दै प्रचण्डले अदालत जान लागेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपचार खोज्ने विषयमा अधिवक्ताहरूसँग परामर्श अघि बढाउने बताएका छन् । अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको कदमविरुद्ध थप रणनीति बनाउन कानुनविद्सँग परामर्शमा जारी राखेका छन् ।

प्रचण्डले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतमा रहेकाले आफूहरू अदालतमा जाने बताएका हुन् । उनले भने, ‘संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको हुनाले अदालत जाने विषयमा पनि अधिवक्ताहरूसँग छलफल गर्दैछौं।’

उनले राष्ट्रपतिलाई विधेयक प्रमाणित नगर्ने अधिकार संविधानले नदिएको बताउँदै संविधान मिचेर विधेयक प्रमाणित नगर्नु दु:खद विषय भएको उनको भनाई छ ।

प्रचण्डले भने, ‘राष्ट्रपतिले हिजो १२ बजेसम्म नागरिकतासम्बन्धि विधेय प्रमाणित गर्नै पर्थ्यो। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई प्रमाणित नगर्ने छुट छैन । तर उहाँले जबरजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो। यो कदम संविधान, लोकतन्त्र र गणतन्त्रका विरुद्ध छ।’

उनले राष्ट्रपतिको उक्त कदम समावेशी समानुपातिक मान्यता अनुरूप देशका उत्पीडित वर्ग, समुदाय सबैलाई प्रदान गरेको अधिकारका विरुद्ध रहेको भन्दै नागरिकता विधेयक प्रमाणित नहुनु गलत भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !