१४ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रलाई निवासमै सरकारले ‘नजरबन्द’ गराएको भन्दै ओलीको आपत्ति


केपी ओली सचिवालय बैठक बालकोट

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले निवासमै ‘नजरबन्द’ गराएको भन्दै विरोध गरेका छन् ।

आज आइतबार आफ्नो निवास बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष ओलीले सरकारसंग सेना पुलिस छ भन्दैमा घर घेर्न पाइन्छ ? भनेर प्रश्न समेत गरेका छन् । ओलीले सेना पुलिस छ भन्दैमा लोकतन्त्रमा कसैलाई ‘नजरबन्द’ गर्न नपाइने भनेर आक्रोश व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभाबाट महाअभियोग प्रमाणित नभएपछि जबरा आज सर्वोच्च अदालत जाने प्रयास गर्नुलाई ओलीले जायज भनेका छन् । सरकारले निलम्बित प्रधानन्यायाधीश जबराको विरुद्धमा जस्तो रवैवा अपनाएको छ त्यसको विरोध गर्दै जबराको समर्थनमा ओलीले मुख खोलेका छन् ।

ओलीले आफैंले थापेको महाभियोगको पासोमा सत्ता गठबन्धन परेको बताएका छन् ।उनले रुसमा बोरिस यल्तसिनले गरेको गोलाबारीको प्रसंग ल्याउँदै त्यसै घटनासँग तुलना गरे । ओलीले सरकारले प्रधानन्यायाधीश महाभियोग प्रकरणमा खेलको भूमिका एमालेले निन्दा गर्ने समेत बताए ।

ओलीले सरकारले जबराको निवास घेराउ गरेर तमासा देखाएको भन्दै आपत्ति जनाएका हुन् । संसदमा दर्ता भएको महाअभियोग पारित हुन नसकेपछि प्रधानन्यायधीसले स्वतः सफाइ पाइसकेको उनले तर्क रहेको छ ।

सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश जबराको बालुवाटारस्थित सरकारी निवासको गेटमै सरकारले तालाबन्दी गरेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली आज जबराको निवासमा पुगेको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफू सर्वोच्च जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेर जबरालाई सुरक्षाकर्मीले बाहिर निस्कन दिएका छैन । यस्तै जबराको निवासमा प्रहरीको संख्या बढाएर निगरानी गरेको छ ।

उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले निवासमा प्रवेश गर्ने र बाहिरिनेलाई पनि सामान्य सोधपुछ गरेको थियो । सरकारले निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल प्रहरीलाई समेत निर्देशन दिएको छ ।

आज बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने सूचना पाएपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आज आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनाएको थियो ।

जबराले भने आफूमाथि लागेको महाभियोग निष्क्रिय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका थिए । जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल हिजो रातिदेखि सकिएकोले महाअभियोग स्वत: निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च प्रशासनलाई हिजो शनिबार नै जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !