२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’ फिर्ता


राष्ट्रियसभाको बैठक

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’लाई फिर्ता लिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईंमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ लाई फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै विधेयक फिर्ता गरिएको हो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनद्वारा २०७७ साल असार १८ गते राष्ट्रिय सभामा दर्ता गराइएको उक्त विद्युत विधेयकलाई २०७८ साउन २० गते राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो भने २०७८ साउन २४ मा समान्य छलफल भई विधेयकलाई २०७८ साउन २८ मा दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो ।

तत्कालीन विधायन व्यवस्थापन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले २०७९ असार ५ गतेको राष्ट्रिय सभाको बैठकमा समितिले विधेयकको सम्बन्धमा तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले बिशेष समयमा बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानार्षण समेत गराएका थिए ।

बिशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दैै सरकारले सर्वसाधारणका लागि सुपथ मूल्य पसलहरु संचालन गर्नु पर्ने बताइन् । उनले अहिले महँगी ज्यादै बढेको बताउँदै बजार अनुगमनका लागि जानु भन्दा अगाडि नै सूचना चुहिने परिपाटीको अन्त्य नगरी अनुगमनमा जानुकै कुनै अर्थ नहुने बताएकी थिइन् ।

बिशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद देबेन्द्र दाहालले राष्ट्रियताको पक्षमा उभिने र चुच्चा नक्सा जारी गर्ने नेकपा(एमाले)को विरुद्धको दलहरुको गठबन्धनको औचित्य पुष्टि गर्न माग गरेका थिए । उनले चुच्चे नक्सा जारी गरे पछि त्यो गुमेको भूमिलाई प्राप्त गर्ने शक्ति विरुद्ध अहिलेको गठबन्धन बनेको भन्दै अहिले आम जनताले बाँडीचुँडी खानकै लागि वर्तमान गठबन्धन बनेको आरोप लगाइरहेको दावी गरे ।

बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा दलहरुको गठबन्धन हुनु ठीक नभएको भन्दै सांसद दाहालले स्वतन्त्र पूर्वक भोट हाल्न पाउने जनताको अधिकारलाई समेत गठबन्धनले कुण्ठित गराईरहेको बताए ।

बिशेष समयमा नेकपा(माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अहिले दार्चुला, जाजरकोट, काभ्रे, भेरी, दैलेख लगायत मुलुकका थुप्रै भागमा बाढि र पहिरोका घटनाहरु भइरहेका भन्दै ती प्राकृतिक प्रकोप पीडितहरुलाई सरकारले उचित क्षतिपूर्ति प्रदान गरी तत्काल सो क्षेत्रको अबरुद्ध यातायातलाई सुचारु गर्न सभाध्यक्ष मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले अहिले डेंगु रोगले गर्दा मुलुकमा भयावह स्थितिमा सिर्जना भईरहेको र डेंगुबाट दर्जनौं व्यक्तिले ज्यान गुमाइसकेको भन्दैै यसको निराकरण र विरामीहरुको औषधिपोचारका व्यवस्थाका लागि सरकारसँग माग गरेका थिए ।

सांसद शर्माले वर्तमान सत्ता गठबन्धन रहर नभई बाध्यकारी अवस्था भएको दावी गर्दै दुई दुई पटक संसद बिघटन र ९ महिनासम्म सदन अबरुद्ध गर्नु शान्तिपूणर् प्रतिगमन भएको जिकिर गरे ।

बिशेष समयमा सांसदहरु जयन्तीदेवी राई, डा.बिमला राई पौड्याल, खिमलाल देवकोटा लगायतले बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक पर्सी असोज २ गते बिहान १० बजेर ५९ मिनेटमा बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !