१५ बैशाख २०८१, शनिबार

ममाथि लगाइएको महाभियोग भ्रामक छ र कुनै सत्यता छैन : चोलेन्द्र


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक भएको र कुनै सत्यता नभएको जिकिर गरेका छन् ।

सिंहदरवारस्थित महाभियोग सिफारिस समितिको बैठकमा तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको दावी गरेका हुन् ।

उनले न्यायिक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको दावी गरेका छन् । उनले संविधानले तोकेको दायित्व र कर्तव्यबाट आफू एक इन्च पनि बाहिर नगएको जिकिर गरेका हुन् ।

जबराले संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिसोध साँध्न खोजेको आरोप समेत लगाए । उनले महाभियोग लगाएको साढे ६ महिना हुँदासम्म यसको जवाफ आफूले पाउन नसकेको भन्दै टिप्पणी गरेका छन् ।

समितिले उनीसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियोे । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान जारी रहेको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुुन बमोजिम काम गर्दै आएको वयान दिएका छन् ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको हो । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ ।

राणा विरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियोे ।

राणा विरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ । समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !