२५ बैशाख २०८१, मंगलबार

जनताको घर-घरमा पुग्ने र उनीहरुका दुःख बुझ्ने असली नेता हो : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको सेवा गर्छु भनेर नेता बनिसकेपछि नागरिकका घर-घरमा पुग्ने तथा उनीहरुको सुख दुःखका बारेमा जानकारी लिनुपर्ने बताएका छन् । जनताको घर घरमा पुगेर उनीहरुका दुःख बुझने नै असली नेता भएको उनको भनाई थियो ।

आज शनिवार नेकपा (एकीकृत समाजवादी पार्टी) सर्मथक डोटी काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेताले जनताका दुःखलाई आफ्ना दुःख सम्झेर काम गर्नुपर्ने बताए । उनले भने, “नेता भनेका सबैका साझा हुन्, जनताले भोग्नु परेका पीडालाई आफ्नो पीडा सम्झेर काम गर्नु सक्नु नै नेताको प्रमुख दायित्व हो ।”

यसैगरी अध्यक्ष नेपालले नेता हुनका लागि बिभिन्न दुःख कष्ट सहन गर्न सक्नु पर्ने भएकाले एकीकृत समाजवादीका नेताहरुले आफ्ना दुःख भुलेर भएपनि जनहितमा काम गर्न आग्रह गरे । नेताले म भन्नु भन्दा पनि हामी भनेर काम गरे देश, नागरिक तथा पार्टीका लागि हितकारी हुने समेत अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि आफ्नो पार्टीले उम्मेदवारहरुको नामावली तयारी गरीरहेको जानकारी गराए । अध्यक्ष नेपालले भने, “हामी उम्मेदवारको नामावलीको तयारीमा छौँ, सम्भवतः भदौँ २० गते सम्म सबै नाम सार्वजनिक गर्छौँ ।” यसैगरी उनले आगामी निर्वाचनमा गठबन्धनका सबै दललाई उचित तथा सम्मान हुने खालको सिट बाँडफाँड हुने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य प्रेमबहादुर आलेले आफु डोटेली जनताको विकास र हितका लागि नेता भएकाले आफु पदमा रहेका बेला देश र जनताकै हितमा काम गरेको बताए । उनले भने, “देश र जनताको हित र विकासका लागि म नेता भएको हुँ, मैले पदमा रहँदा देश र जनताकै पक्षमा काम गरेको छु, मैले कति काम गरेको छु भन्ने कुरा जनताले प्रतक्ष देखेका छन् ।”

यसैगरी निर्वमान मन्त्री आलेले आफु डोटेली जनताका घर घरमा पुगेको र उनीहरुका सुख दुःखका विषयमा प्रत्यक्ष रुपमा जानकारी लिएकाले डोटेली जनताले आफुलाई पटक-पटक निर्वाचित गराउदै आएको दावी समेत गरे । आलेले भने, “म डोटीका जनताका घर घरमा पुगेको छु, उनीहरुका दुःख के हुन मैले बुझेको छ, डोटेली जनताको दुःखमा मलम लगाउने जिम्मा मेरो काँधमा छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य आलेले सुदूरपश्चिमको धनगढीस्थित गेटा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि आफु मन्त्री भएका बेला बजेट विनियोजन गराउन सफल भएकाले अबको पाँच वर्ष भित्रमा उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुने जिकिर गरे ।

यसैगरी पूर्वमन्त्री आलेले कैलाली, बिपीनगर, गड्सेरा, दिपायल, बझाङ हुँदै उरैताक्लाकोट जोड्ने सडक निर्माण कार्य सञ्चालनसँगै कालोपत्र गराएरै छोड्ने बताए । उनले घुमाउरो शैलीमा डोटेली जनताको माग आफुलाई नै केन्द्रमा पठाउने भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनमा डोटीबाट संघिय निर्वाचनको उम्मेदवार आफुनै रहेको जानकारी गराए ।

उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्या गरी कम्तिमा पनि एक सय जना भन्दा बढीले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेको डोटी काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !