१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभाद्वारा ४ विधेयक पारित


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले विभिन्न ४ विधेयक पारित गरेको छ । बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल(पाँचौं संशोधन) विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको हो ।

अघिल्लो बैठकमा गणपूरक संख्या नपुगेकाले निर्णयार्थ प्रस्तुत हुन नसकेको ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई आज पारित गरिएको हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘पशु स्वास्थ्य तथा पशु सेवा सेवा परिषद् विधेयक, २०७९’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गर्नु पूर्ब बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहित विधेयकमाथि छलफल भई छलफलमा उठेका प्रश्नहरुको कृषि तथा पशुपन्छी विकासमन्त्री यादवले जवाफ समेत दिएका थिए ।

त्यस्तै, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक माथि दफाबार छलफल भई छलफलमा उठेका प्रश्नहरुको आपूर्तीमन्त्री बडूले जवाफ दिएका थिए भने सांसदहरु घनश्याम खतिवडा र प्रेम सुवालले राखेको विधेयक माथिको संशोधनहरुलाई बैठकको बहुमतले अस्वीकृत समेत गरेको थियो ।

बैठकमा आपूर्तिमन्त्री बडूले नै राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रत्यायन विधेयकलाई पारित गर्नुपूर्व बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको उक्त विधेयक माथि दफाबार छलफल भई छलफलमा उठेका प्रश्नहरुको आपूर्तीमन्त्री बडूले जवाफ दिएका थिए भने सांसद प्रेम सुवालले विधेयक माथि राखेको संशोधनको प्रस्तावलाई बहुमतले अस्वीकृत समेत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !