८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभामा चुनाव लड्न राष्ट्रियसभाबाट राजीनामा दिने वामदेवको तयारी


वामदेव गौतम

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रतिनिधिसभामा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रियसभामा गौतमको अझै ४ वर्षे कार्यकाल बाँकी नै रहेको छ ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न ‘हँसिया हथौडा’ बाट चुनाव लड्न दिने निर्णय गरेको छ ।

गौतमको आग्रहअनुसार नै माओवादी केन्द्रले सो निर्णय गरेसँगै आसन्न निर्वाचनमा वामदेव चुनाव चिह्न हँसिया हतौडाबाट निर्वाचन लड्ने भएका हुन् । गौतमले सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा भागबण्डा मिल्ने वित्तिकै राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने तयारी गरेका हुन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा गौतम वर्दिया क्षेत्र नम्वर १ बाट पराजित भएका थिए । कांग्रेसका संजय कुमार गौतमले उनलाई चुनाव हराएका थिए । अहिले उक्त निर्वाचन क्षेत्रमा कांग्रेसले नै दावी गरेकोले बामदेव निर्वाचन क्षेत्र परिवर्तन गरेर प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

बाबुराम र वामदेवलाई ‘हँसिया हथौडा’ चिह्नबाट चुनाव लड्न दिने माओवादीको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !