८ बैशाख २०८१, शनिबार

बाबुराम र वामदेवलाई ‘हँसिया हथौडा’ चिह्नबाट चुनाव लड्न दिने माओवादीको निर्णय


माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानलाई ‘हँसिया हथौडा’ चिह्नबाट चुनाव लड्न दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो ।

योसँगै आसन्न निर्वाचनमा बाबुराम र वामदेव माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडाबाट निर्वाचन लड्ने भएका छन् । गौतम र भट्टराईको आग्रहअनुसार नै माओवादी केन्द्रले सो निर्णय गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दल दर्ताको समयसीमा आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरू निर्वाचन आयोग जाँदै छन् ।

आज मंगलबार नै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ । गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनु नपर्ने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !