१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभाको बैठकमा सदन तथा सरकारको ध्यानाकर्षण


निरुदेवी पाल

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य तथा बिशेष समयमा बोल्दै समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा(एमाले) की सांसद निरुदेवी पालले निहारिका राजपूतले आफ्नो सन्तानको डिएनए जाँचको माग गर्दै पटक-पटक अनशनमा बस्दै आएकी र अहिलेसम्म उनले न्याय नपाएकाले आत्मदाहको प्रयास समेत गरिएको भन्दै निहारिका र उनको बच्चालाई छिटो न्याय दिन सरकारसँग माग गरेकी थिइन् ।

उनले पीडित पक्षलाई गर्भपतनको लागि विगतमा पीडक पक्षबाट दिइएको दवावको अडियो समेत अहिले सामाजिक सञ्चालमा सार्वजनिक भईसक्दा समेत सरकारले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै निहारिकाको बच्चाको डिएनए टेस्ट गर्न सरकारले नसक्नुको कारण बारे प्रश्न गरेकी थिइन् ।

निहारिकाको सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएकोमा धन्यवाद ज्ञापन गर्दै सांसद पालले ढिलो गरि न्याय पाउनु भनेको न्याय नपाउनु सरहनै हुने पनि स्पष्ट पारेकी थिइन् ।

बिशेष समयमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले हालै आएको बाढि र पहिरोका कारण दोलखा जिल्लाको लाविलाङ्ग, तामाकोशी, सिंगटी क्षेत्रका दुई सय पचासवटा भन्दा बढि घरहरुमा क्षति पुर्‍याएकाले उनीहरुको तत्काल राहत र व्यवस्थापनको लागि सरकारसँग माग गरेका थिए ।

अहिले दोलखाबाट रामेछापतिर जाने बाटो पनि पहिरोका कारण अबरुद्ध हुन पुगेको बताउँदै सांसद लामाले उक्त सडक तत्काल खोल्न सरकासँग माग गरेका थिए ।

उनले आउँदा निर्वाचनमा सबै राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार उठाउनु पर्ने भन्दै महिलाको महिलासँग र दलितको दलितसँग मात्र प्रतिस्पर्धा हुने व्यवस्था हुनु पर्ने बताए ।

बलात्कार र महिला हिंसाको घटनाका सम्बन्धमा सबै सांसदहरुले दैनिक सदनमा बोले पनि दोषीहरुलाई भने कारबाही हुन नसकेकोमा दुःख व्यक्त गर्दै सांसद लामाले स्वर्गीय नेता मदन भण्डारीकी श्रीमती अहिले राष्ट्रपति पदमा हुँदा समेत सो घटनाका दोषीको अझै पत्ता नलाग्नु दुःखद् भएको बताएका थिए ।

सांसद लामाले अब काठमाडौंका मेयरलाई सबै राजनीतिक दलले सहयोग गरेर काठमाडौंको फोहोर उठाउन तिर लाग्नुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तमाङ्गले यही साउन २४ गतेको भिषण बर्षाका कारण नुवाकोट जिल्लाको तादीखोलाको, ढिकुरेको आप्रेको पक्की पुल लगायत निर्माणाधीन पुलहरु र दुप्चेश्वको हाइड्रो कम्पनीमा समेत क्षति पुगेको भन्दै पीडितहरुलाई राहत र पुनस्र्थापनाको लागि सभामखु मार्फत सरकारसँग माग गरेका थिए ।

उनले ती पहिरो गएका स्थानहरुमा सरकारले जियोलोजिष्टहरुलाई पठाएर अध्ययन गर्नका लागि सभामुख मार्फत सरकारसँग माग समेत गरेका थिए ।

बिशेष समयमा नेकपा(एकीकृत समाजवादी)की सांसद डा.पुष्पाकुमार कणर् कायस्थले रेडियो नेपालको केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै अहिले रेडियो नेपालको बर्दिबास स्टेशनले केन्द्रीय प्रशारणलाई हुकगर्दा समस्या आउने गरेको प्रति सभामुख मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी थिइन् ।

उनले विश्वविद्यालयका प्राध्यापकहरुको मर्यादाक्रमलाई विगतमा नै राजपत्रमा प्रकाशित गरिएको भए तापनि अझै पनि त्यसलाई कार्यान्वयन नगरिएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी थिइन् ।

बिशेष समयमा जसपाकी सांसद लिलादेवी सिटौलाले बिगतमा एमसीसी पास गर्नुपर्छ भनेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका थुप्रै प्रमाणहरु भए पनि आज सोह दलका नेता तथा सांसदहरुले एमसीसीमा हाम्रो संलग्न छैन भनिरहँदा अचम्म लागेको बताएकी थिइन् ।

पूर्वप्रधानमन्त्री ओलीले नै विगतमा नागरिकता विधेयक सदनमा नल्याएको र पछि आफूलाई अप्ठेरो परेपछि अध्यादेशको रुपमा ल्याएको बताउँदै सांसद सिटौलाले अहिले त्यही हिजो ओलीले ल्याएको अध्यादेशलाई नै विधेयककोरुपमा सदनमा ल्याइ सदनले पास गरीसके पछि राष्ट्रपतिले लालमोहर नलगाएर जिम्मेवारी पूरा नगरेको बताइन् ।

राष्ट्रपति पद कुनै पनि दलको नहुने भन्दै सांसद सिटौलाले आमा र बाबुको नागरिकता हुँदा हुँदै पनि अहिले उनीहरुका छोराछोरीहले नागरिकता नपाएर आत्महत्या गर्नुपर्ने अवस्था आइरहेको बताएकी थिइन् ।

बिशेष समयमा नेमकिपाका सांसद प्रेम सुवालले काठमाडौं उपत्यकाका अधिकांश सडक निर्माणको ठेक्का पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्सट्रक्शन कम्पनीले पाएको बताउँदै अहिले शैलुङ्ग कन्सट्रक्शन कम्पनीले कुनै पनि सडक निर्माण कार्यलाई समयमै सम्पन्न नगर्दा सडकहरु अलपत्र परेको बताएका थिए ।

उनले सैलुङ्ग कम्पनीले भक्तपुरको नगरकोटको सडक समेत अहिले अलपत्र छोड्दा त्यहाँका जनताहरु मारमा परिहेको भन्दै उक्त सडक तत्काल निर्माण सम्पन्न गराउनको निमित्त सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

अहिले अधिकांश दैनिक उपभोग्य र खाद्य बस्तुमा व्यापारीहरुले मिसावट गरिरहेको दाबी गर्दै सांसद सुवालले उक्त मिसावट गर्ने व्यापारीसँग उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीको पनि साँठगाँठ रहेको भनी उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग समेत गरेका थिए ।

बिशेष समयमा सांसदहरु यज्ञराज सुनुवार, रंगमती शाही, दिल कुमारी, झपटबहादुर रावल, सरिताकुमारी गिरी लगायतले बोलेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !