२० बैशाख २०८१, बिहिबार

प्रतिनिधि सभाको बैठकद्वारा दुई विधेयक पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकले ‘शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ र ‘बीमा विधेयक, २०७९’लाई बहुमतले पारित गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यही साउन २५ गतेको बैठकमा गणपूरक संख्या नपुगेर यो विधेयक पारित हुन सकेको थिएन । शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक संशोधन सहित बहुमतले पारित भएको हो ।

त्यस्तै, बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बीमा विधेयकलाई पारित गरिनु पूर्व बैठकमा अर्थ समितिको प्रतिवेदन सहित विधेयकउपर छलफल भई छलफलका उठेका प्रश्नहरुको अर्थमन्त्री शर्माले जवाफ समेत दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !