२४ बैशाख २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने


संसद बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।

यस्तै सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने दैनिक सम्भावित दोस्रो कार्यसूची रहेको छ ।

दैनिक सम्भावित तेस्रो कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइरालाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने कार्यक्रम रहेको छ ।

सांसद बिन्दा पाण्डेले ‘दोस्रो जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराउने दैनिक सम्भावित चौथो कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयकाले सार्वजनिक गरेको दैनिक सम्भावित पाँचौं कार्यसूचीअनुसार सांसद अमृता थापाले ‘नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको विषयलाई सुनिश्चितताको लागि संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कानुन संशोधनको एकीकृत मस्यौदा तयारीको लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन भएको छ । प्रतिनिधि सभामा समेत यस विषयमा छलफल गर्न माग गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उमेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उमेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उमेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उमेदवारी आह्वान गर्ने व्यवस्था गर्नेलगायत सुझावहरु दिन आवश्यक भएकोले’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उक्त प्रस्तावलाई सांसद लक्ष्मी परियारसहित ११ जना सांसदले समर्थन गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !